पर्यावरणवाद र आजको विश्व

April 10, 2015 in Miscellaneous

 

पर्यावरणवाद भनेको के हो ? आजको विश्वमा यसको महत्व किन वढेर गईरहेको छ? मानिसहरु आज किन पर्यावरणकै कुरा गर्छन ? के पर्यावरणवादले आजका समस्याको समाधान दिन सक्दछ ? दिगो अस्थित्वको वारेमा सोच्न मानिस आजसम्म पनि किन यसरी विभाजित छ ?यस्तै कुराहरु हामीले पर्यावरणवाद भित्र खोज्नुपर्ने हुन्छ ।
पृथ्वीको जल, वायु, खनिज, जमिन, माटो, समुद्र सवैमा मानिसको वढ्दो उपस्थिति र मानवजन्य क्रियाकलापहरुले गर्दा परीरहेको असरलाई मनन गरी यसका प्रभावहरुलाई न्यून गर्ने र प्रकृति, पारिस्थितिकी प्रणाली र मानिस विचको गतिशिल सम्वन्धमा सन्तुलन र असर न्यूनीकरणको विषयमा जोड दिनु पर्छ भन्ने विषयलाई पर्यावरणवाद भन्न सकिन्छ । आजको विश्व पर्यावरणको विषयले वढि भन्दा वढि स्थान ओगट्दै जान लागेको स्थितिलाई विल्कुल स्वाभाविक मँन्नु नै पर्दछ । किनभने पर्यावरणको विषय भनेको हाम्रो र सवै प्राणी र प्रणालीको अस्थित्वको विषय पनि हो ।
विश्व आज पर्यावरणको विषयमा चिन्तीत र चिन्तनशिल पनि हुदै गईरहेको छ । पर्यावरणको विषयवस्तु तर्फ चिन्तनशिल, उत्सुक हुने र गम्भीर हुने जनमानस आज अन्तराष्ट्र्यि रुपमा नै वढ्दै गईरहेको छ ।
पर्यावरणका विषय हिजो कतिपय अवस्थामा आसंका र अनुमानका आधारमा वोल्ने र विश्वास गर्ने गरिन्थ्यो । ती कतिपय कुराहरु आज तथ्यवाट र प्रमाणवाट पुष्टिभएको रुपमा पनि हामी सामु आईसकेका छन । कैयौ तथ्यहरु आज पनि प्रयोग र परिक्षणको क्रममा रहेका छन ।
अर्को तर्फ पर्यावरणवादीहरुको विषयलाई अतिशयोक्तिपूर्ण र आसंकाको खेती सम्झनेहरुको संख्या पनि ठुलै रहेको छ । विषय विज्ञहरु वाहेकको खेमावाट यस किसिमको पर्यावरण विषयलाई गौण रुपमा हेर्ने र पर्यावरणपन्थीहरुको भनाई र व्यवहारलाई अतिशयोक्तिपूर्ण ठान्ने प्रवृति ठुलै रुपमा रहेको छ । संख्याको आधारमा गरिने नीतिगत निर्णयहरुमा पर्यावरणवादीहरुको दावी नपुग्ने स्थिति पनि भईरहेको देखिन्छ ।
पृथ्वीको जमिन सिमित छ, स्रोतहरु सिमित छन, पर्यावरणीय सन्तुलनको क्षमता सिमित छ, भन्ने सोचवाटै पर्यावरणवादको अवधारणा जन्मिन पुगेको हो । जव मानिसको जनसंख्या पृथ्वीमा वृद्धि हुने क्रम वढ्न थाल्यो, त्यसैवेला देखि विद्धानहरुले जनसंख्या र स्रोतहरुको सन्तुलन सम्वन्धमा प्रश्न र जिज्ञासाहरु उव्जाउन थालिएको हो ।
जनसंख्या सिमित रहेको अवस्था र स्रोतहरु प्रचुर रहेको अवस्था सम्म पृथ्वीमा स्रोत र पर्यावरणको विषयमा खाशै चासो दिन आवश्यक ठानीएन । स्थानीय पर्यावरणमा सानातिना फेरवदलहरु ह्ुने र त्यसवाट आंशिक रुपमा मानिसको वसोवास र जनजीवन प्रभावित हुने कुरा त विगतमा पनि कैयौ कालखण्डमा र भू खण्डमा नभएको होईन । तर त्यसवाट विश्वव्यापी कुनै असर नआईसकेको र मानिस प्रत्यक्ष पिडित भएको कुरालाई समग्र रुपमा अनुभूत नभईसकेकोले पनि मानिस पर्यावरणको विषयप्रति विश्वव्यापी रुपमा चिन्ताग्रस्त हुने अवस्था नआएको हो । तापनि धेरै पर्यावरणविद्हरु यस्तो पर्यावरणको विषयलाई निकै अघि देखि नै आफ्नो गहन चिन्ताको विषय वनाउदै आएको कुरालाई हामी देख्दै सुन्दै आईरहेका नै छौं ।
अव सवैले महशुश गरेको कुरा हो कि पृथ्वीको जनसंख्या अघिल्लो शताव्दिको तुलनामा निकै गुणा वढिसकेको छ । पृथ्वीको जनसंख्या सात अरव नाघ्ने स्थितिमा पुगीसकेको छ । त्यसको साथसाथै वढ्दो जीवनस्तरको कारणले सेतहरु माथि थप भार पर्ने क्रम पनि रोकिएको छैन । नयांनयां आविष्कार उपकरणको कारणले नयां आवश्यकता थपिने र त्यसले प्रकृति र वातावणलाई नकारात्मक असर पर्ने क्रम वढिरहेको छ ।
पृथ्वीमा भएका स्रोतहरु निरन्तर उपयोग हुदै जांदा कुनै घट्ने र सकिने अवस्थामा पुगीरहेका छन । त्यस्ता स्ेतहरुको उपयोग वढाउदाको असर पनि वातावरणमा परीरहेको छ । खनिजजन्य स्रोतहरु उत्खनन देखि प्रशोधन विभिन्न चरणमा वातावरणलाई नकारात्मक असर परीरहेको छ । खनिज स्रोतको दोहनको क्रममा पनि वायु, जलको प्रदुषण, भूमी प्रदुषणका समस्या वढेर जान सक्छन ।
उता नविकरणीय र वातावरणीय स्रोतको उपयोगको कुरा अर्कै छ । यस्ता सेतहरुको उपयोग र दोहनले प्रत्यक्ष अप्रत्यक्ष किसिमले समेत वातावरणमा नकारात्मक प्रभाव हुन पुगेको छ । वन जंगलको विनासले पानीको स्रोत, अक्सिजन, जैविक विविधता, कृषि उत्पादकत्व आदी सवैमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । साथसाथै अन्य जुनसुकै वातावरणीय स्रोतको उपयोगले पनि अन्य धेरै स्रोतको क्षमताामा र उपयोगमा असर गरीरहेको हुन्छ ।
पर्यावरणीय स्रोतहरु लगायत खनिज स्रोतहरुको उपयोगले गर्दा प्राकृतिक वातावरणमा र पारिस्थितिकी प्रणालीमा कम असर पर्ने गरी उपयोग गर्ने उपायहरु पनि छन । यो कुरा विभिन्न अध्ययनहरुले पनि पुष्टि गरीरहेको छ । आज यसतर्फ पनि मानिसलाई ध्यानाकर्षण गराउने प्रयास पनि भईरहेको छ ।
आर्थिक विकासको पक्षलाई मात्र ध्यान दिने हो भने वातावरण संरक्षणको पक्ष गौण वन्न जाने भन्ने कुरा स्वत पनि स्पष्ट हुन जाने विषय हो । हाम्रो प्राथमिकता वातावरण संरक्षण पनि हुनुपर्छ । केवल आर्थिक वृद्धिको कुरालाई मात्र ध्यान दिएर जानु भनेको सरासर र छिटै वातावरण समस्या निम्त्याउनु हो, सन्तानको भविष्य प्रति धोका दिनु हो । कैयौ प्राणीप्रति अन्याय गर्नु हो । त्यसैले सन्तुलन मिलाएर जान सकेमा मात्रै दिगो विकासको अनुभूती हामीले गर्न सक्छौ ।
मानिस प्रकृतिमा जन्मिएर, प्रकृतिसंगै हुर्किएर प्रकृतिसंगै विलाएर गईरहेको हुन्छ । मानिस आफू पनि प्रकृतिको एक अंग हो । प्रकृतिको सुन्दरतम र क्षमतावान संरचना मानिस हो । आफ्नो क्षमतावान संन्तान संग अपेक्षाहरु राख्नु पनि प्रकृतिको लागि स्वाभाविक हो । तर मानिसले केवल आफ्नो स्वार्थमात्र हेरीदिदा प्रकृति निराश रहनु र कहिलेकांही क्रुद्ध रहनु स्वाभाविक हो ।
प्रकृतिको काखमा खेल्ने हामी प्रकृतिकै रशधारा पिएर आफ्नो जीवन चलाईरहेका हुन्छौ । प्रकृतिको सन्तान पाल्ने क्षमता असिमित भने हुदैन । निश्चित क्षमता लिएर नै प्राकृतिक प्रणालीहरु संचालनमा रहन्छन । तर हामीले असिमित र अनन्त दोहन गर्यौ भने यस्ता प्राकृतिक प्रणालीहरु या त नासिन्छन वा क्षमता छिन्न भिन्न भएर कमजोर पर्न जान्छ । गाईको दुध दुहुने ग्वालाले गाईको स्याहार पनि गर्न जान्नु पर्छ ।
अनेक वैज्ञानिक आविष्कार र प्रयोगहरुले, जनसंख्याको वढ्दो चापको सिधा दोहनले, मानिसका शुख चाहनाका वढ्दा आकांक्षाहरुले पृथ्वी आक्रान्त र त्रस्त वन्न वाध्य भएको छ । जमिनको दोहन मात्र होईन, समुद्र, महाशागरहरुमा समेत गएर अनेक दोहनहरु ह्ुन थालेको छ । तेल, कोईला, कृषि, वन कटाई, खानी संचालन, पशुपालन, औधोगिक क्षेत्र, यातायात विस्तार, स ञ्चार विस्तार, शहर निर्माण, वस्ती विस्तार आदी कारणहरुले गर्दा पृथ्वीलाई थेग्नै नसक्ने गरी अनेक पक्षवाट मार पर्न गएको छ । यी गतिविधी संचालन गरिरहेका मानिसहरु, अनुमती दिने सरकार र निकायहरु र सर्वसाधारणले पनि यो कुरा वुझ्नु पर्छ ।
वातावरण संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने निकायहरु चुप लागे सम्म महत्वपुर्ण काम हुन सक्दैन । जनताले पनि यस विषयमा चासो राखी के भइृरहेको छ, के गर्दा राम्रो हो भन्ने पक्षमा ध्यान दिन छोड्नु हुदैन भने अन्य निकायहरुले यसमा सहयोगी भूमीका खेलीदिनु पर्छ । किनभने वातावरणको स्वामित्व भनेको जनताको हो । त्यो पनि अझ उनीहरुको सन्तानको नासो समान हो । स्रोत मास्ने होईन, स्रोतलाई नघटाई दिगो उपयोग गर्नु वातावरण मैत्री व्यवहार कहलिन्छ ।
वातावरणका स्थानीय समस्याहरु फरक किसिमले वढेर गईरहेका छन भने विश्व समस्याहरु पनि त्यही किसिमले जटिल वन्दै गईरहेका छन । विश्व समस्या भन्नु पनि वास्तवमा स्थानीय समस्याहरुको समष्ठिगत असर हो । भूक्षय, वन विनास, वाढी, पहिरो, राशायनिक मल, विषादीको प्रयोग, खानी संचालन, उत्खनन आदी कार्यले शुरुमा स्थानीय रुपमा असर गरी समस्यालाई फैलाउदै लैजान्छन ।
विश्वव्यापी रुपमा वायू प्रदुषण, सामुद्रिक जल प्रदुषण, जैविक विविधता ह्रास, ओजन तह विनास, उर्वराशक्तिको ह्रास र मरुभूमीकरण, मौसम परिवर्तन आदी असरहरु देखिदै जान थालेका छन । तर यी सवै विश्वव्यापी समस्याको लागि पनि स्थानीय तहदेखि काम गर्ने हुनाले हामी जिम्मेवार छौ । विश्वव्यापी असरमा जसरी हामी जिम्मेवार छौ, त्यसरी नै त्यसको असर पनि हामीहरुले नै भोग्ने हो । पृथ्वी जोगाउन र यसको वातावरणलाई संकटवाट वचाउन हामीहरुनै सवै एकजुट भएर लाग्नु नै आजको संकटको सही समाधान हो भन्ने कुरामा दुइमत नहोला ।