नाकाबन्दी समस्या र हाम्रो दायित्व

November 7, 2015 in Miscellaneous

 

9+
1
Geographic Solutions
हिजो 4:54अपरान्ह मा ·
नाकावन्दी समस्या र हाम्रो दायित्व
देश समस्याग्रस्त वन्दै गैरहेको छ । हामी जनताहरु कोही किंकर्तव्यविमुढ अवस्थामा छौ भने कोही आफ्नो दुनो सोझाउन मात्र व्यस्त छौ । न त यहां सर्वसाधारण जनताहरु जुटेर एक जुट भएर समस्याको निकास खोज्ने तिर लागेका छौ भने न त गम्भीर रुपमा कुनै छलफल नै चलाएका छौ । भनिन्छ, जनताले चाहेमा नहुने र गर्न नसकिने केही छैन । तर हामीले कुनै प्रयास गरेनौ भने नाकावन्दीले भन्दा हामी विचको अकर्मण्यता र असझदारीले हामी छिटै पिडीत हुनेछौ ।
छिमेकी राष्ट्रले हाम्रो देशमा पारवहन अवरोध भनौ वा नेपाल आयल निगमलाई सम्झौता गरी उपलव्ध गराउदै आएको पेट्रोलियम पदार्थ र अन्य आवश्यक सामाग्रीहरुमा अभाव सृजना हुने गरी खडा गरेको अवरोधले गर्दा जनजीवनमा कतिपय कष्टहरु थपिन पुगेका छन । अव यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी जनताहरुले पनि पुर्ण सचेतना र समझदारीका साथ आफूले कस्तो सावधानी र सहयोग पुर्याउदा समस्यालाई नराम्रो हुन वाट जोगाउन सकिन्छ भन्ने विषयमा छलफल विचार विमर्श गरी जनमानसले त्यसको लागि धैर्यता, संयमता, वुद्धिमानी र समझदारी देखाउनु ठुलो सहयोग हुन जान्छ ।
नेपाल सानो देश हो, तापनि यहां भएको विविधता र प्राकृतिक स्रोतहरुको प्रचुरताले गर्दा देशको लागि चाहिने धेरै वस्तुहरुको आत्मनिर्भरता हामीले विकास गर्न सकिने संभावना छ । केवल पेट्रोलियम पदार्थमा हामी पूर्ण रुपमा भारत संग निर्भर हुदै आएका थियौ । पेट्रोलियम पदार्थमा हाम्रो माग झन झन वढ्दै गएको स्थिति पनि हो । तर उर्जाका वैकल्पिक स्रोतहरु विकास गर्ने हो भने नेपालमा प्रसस्त उर्जाका स्रोतहरु नभएको होईन । हामीले आज सम्म यस दिशामा गरेको वेवास्ताले पनि समस्या यो हद सम्म परनिर्भर हुन पुगेको हो ।
अझै पनि ग्रामिण जनजीवन नेपाली जनजीवनको मुल स्वरुप हो । हाम्रा गांउहरुमा ईन्धनका परम्परागत स्रोतहरुमा दाउरा, गुईठा, भुसे चुलोहरु आदी प्रयोग हुदै आईरहेका थिए । केही दशक अधिदेखि ग्रामिण क्षेत्रलाई लक्षित गरी गोवरग्यास कार्यक्रम पनि संचालन भयो । धेरै गांउहरुमा अहिले गोवरग्यास प्लान्टहरु पारिवारीक रुपमा संचालन गरी खाना पकाउने काममा प्रयोग पनि हुदै आईरहेका छन । केही केही गांउहरुमा विजुलीवाट खाना पकाउने, राईसकुकर, हिटर, पानी तताउने ईलेक्ट्रिक केतलीहरु पनि प्रयोग हुदै आईरहेका छन । तर विजुली सवै गाउहरुमा नपुगीसकेको र सर्वसुलभ, नियमित र सस्तो पनि नभएको हुनाले यसले अझै व्यपकता पाउन भने सकेको छैन ।
यो संकटको वेलामा शहर वजारमा विद्धुत ईन्डक्सन कुकरको प्रयोग गर्नेै प्रचलन पनि वढ्दै गएको छ । सोलार वाट खाना पकाउने लगायत घरेलु ईन्धन पुर्तिगर्ने प्रणालीहरु त्यति प्रभावकारी रुपमा विकास गर्न सकिएको छैन । कतिपय ठांउमा हावावाट पनि इन्धन शक्ति उत्पादन गर्ने संभावना नभएको होईन । साना माईक्रो हाईड्रो, पिको हाईड्रो, स्मल हाईड्रो आदीको रुपमा ग्रामिण क्षेत्रलाई आवश्यक पर्ने ईन्धन आपुर्तिको व्यवस्था स्थानीय रुपमा गर्ने गरी लोकल ग्रीडहरुको अवधारणा अगाडी वढाएको अवस्थामा पनि त्यो प्रभावकारी हुने देखिन्छ । हाईव्रिड सिस्टमवाट लोकल ग्रीड सिस्टम स्थापना गर्ने वारेमा पनि संभावना देखिएको हो । विशेष गरी दुरदराजका गांउहरुमा यसरी ईन्धन आपुर्ति गर्ने केही संभावना पनि देखिन्छ ।
पर्वतवाट कान्तीपुर दैनिकमा कार्तिक २० मा एउटा समाचार आयो इन्धन अभावमा सामूहिक भोजन । आखिर उपाय त रहेछ । कही न कही केही त भएको रहेछ । सामुहिक भोजन गर्दा समय र ईन्धनमात्र वच्ने होईन, अरु सामानहरुको वचत हुन्छ भनेर त्यहां भनिएको छ । त्यसैले संभव ठांउहरुमा इन्धन अभाव टार्न त्यस किसिमको व्यवस्था पनि त गर्नै पर्ने भयो । सवैले ईन्धनको विकल्पको विकासमा सोच्न लागियो भने नयां नयां संभावनाहरु अवलम्वन गर्न नसकिने होईन ।
यो आजको उत्तर आधुनिक समय हो । हामीले पनि चाह्यो भने ईन्धनको समस्या समाधान गर्न नसकिने नै चाहि होईन । आज ईन्टरनेट देखि सवैतिर चाहिने ज्ञान र प्रविधिहरु जान्न सिक्न सकिन्छ । हामीले सिक्न नखोजेकै कारणले यो समस्या भएको हो । जान्यो भने धाराको पानीवाट विजुली निकालेर वाल्न सकिन्छ । छानामा सोलार पाता राखेर ईन्धन समस्या हल गर्न सकिन्छ । गाईवस्तुको गोवर आदीवाट वायोग्यास निकाल्न सकिन्छ । दाउरा, गुईठा,भुस आदीवाट खाना वनाउने त हाम्रो पुरानो चलन हो । अझ यसमा प्रविधिमा सुधार गरेर राम्रै गर्न सकिन्छ । छानामा हावावाट चल्ने रोटर राखेर विद्युत उत्पादन गर्न सकिन्छ । वनका पात पतिङ्गर, वनमारा आदीवाट व्रिकेट वनाएर पनि खाना वनाउन सकिन्छ । यी प्रविधि अहिले हामीलाई उपलव्ध भैरहेकै प्रविधिहरु हुन ।
ईन्धन समस्याका विभिन्न विकल्प हुन सक्छन । एउटा स्रोतको अभाव हुंदा अन्य विकल्पहरुवाट त्यसको अभावलाई प्रतिस्थापन गर्दै हटाउदै जान सकिने पनि अवस्थाहरु वन्दै आएका छन । आज पेट्रोलियम पदार्थको अभाव हुंदा विद्युत चालित गाडीहरुको कुरा पनि उठिरहेको छ । अर्को कुरा पेट्रोलियम आपुर्तिको लागि पनि हाम्रो अर्को छिमेकी राष्ट्र चिनले तत्परता देखाईरहेको छ । चिनवाट यसको आपुर्ति पनि शुरु भईसकेको छ । भारततिरवाट आउने वस्तुमा पनि पुरै नाकावन्दी नभएर केही नाकाहरुमा अवरोध भएको र केही वाट सामानहरु आउदै गरेको स्थिति रहेको कुरालाई आशावादी नजरले हेर्न सकिन्छ ।
आज ईन्धनको अभाव भए जस्तै भोली अन्य वस्तुहरुको पनि अभाव होला । खाद्यान्न अभाव मुख्य संवेदनशिल विषय हो । अन्य अत्यावश्कीय वस्तुहरुको आपुर्ति स्थिति वारेमा पनि सरकार र जनता मिलेर त्यसको सहज आपुर्ति र व्यवस्थापनको लागि सोच अपनाउनु पर्छ । आपुर्ति स्थिति वारेमा सरकारले स्पष्ट जानकारीहरु जनसमक्ष राख्दै सहयोगको आग्रह गर्ने र जनस्तरवाट पनि कुन कुन वस्तुमा मितव्ययीता अपनाउनु पर्ने र कुन कुन वस्तुमा सहज आपुर्ति कायम राख्न सकिन्छ भन्ने विषयमा विचार गरी सहयोग गर्नु पर्दछ ।
यस्तो समस्यावाट नै देशले वास्तवमा आत्मनिर्भरता र स्वदेशी वस्तु प्रयोगको पाठ सिक्नु पर्छ । देशमा दैनिक मात्रामा वढि खपत हुने तरकारी, फलफूल, अन्य दैनिक आवश्यक वस्तुहरुमा देश भित्रै उत्पादन क्षमता वढाई आत्मनिर्भरताको स्तर वढाउन सकिन्छ । आजको युगमा केवल मौद्रिक मूल्यमा तुलनात्मक लाभलाई मात्र नहेरी आत्मनिर्भरताको विषयलाई पनि ध्यान दिन जरुरी हुन्छ भन्ने कुरालाई पाठको रुपमा ग्रहण गर्न सकियो भने राम्रै हुनेछ ।
ईन्धन अभाव भएको समयमा सकभर निजी सवारी साधनहरु प्रयोग नगरीदिने, संभव भए सम्म पैदल दुरी तय गर्ने, साईकलहरुको प्रयोग गर्ने, सार्वजनिक सवारी साधन प्रयोग गर्ने, अनावश्यक ठांउमा सकभर यात्रा नगर्ने, घुमफिर र पर्यटकिय भ्रमणका कार्यक्रम सकभर घटाउने, सवैलाई त्यसो गर्न सल्लाह सुझाव दिने गरेर यातायात क्षेत्रको ईन्धनमागलाई घटाउन सकिन्छ । त्यसै गरी खानेकुरामा सकभर परिवारमा भन्दा रेष्टुरेष्टमा वा सामूहिक रुपमा भोजनको व्यवस्था गर्ने, धेरै थरी खाने कुरा वा वढि ईन्धन लगाएर तयार गरिने खानेकुराको सट्टा सकभर काचो खाने पदार्थहरु, आधा पाकेको खाने पदार्थहरु वा थोरै ईन्धन लाग्ने पदार्थहरु रोज्न सकिन्छ ।
ईन्धन अभाव भएको अवस्थामा हिटिङ्ग सिस्टमहरुलाई सकभर प्रयोग कम गर्ने, एयर कन्डिसनिङ्ग सिस्टमलाई कम चलाउने, लिफ्ट सिस्टमको प्रयोग कम गर्ने, ईन्धन खपत हुने सामानहरुलाई सकभर कम प्रयोग गर्ने, हातले गर्न सकिने कामहरु हातले गर्न प्रयास गर्ने, यसरी हामीले सामान्य सावधानीहर अपनाएर ईन्धन खपतलाई कम गराउन सकिन्छ । यी पक्षहरुमा छलफल विचार विमर्श र सहयोगी एवं सकारात्मक भावना राखेको खण्डमा भैरहेको ईन्धन खपतमा निकै कम गराउन पनि नसकिने होईन ।
मनपर्‍यो
टिप्पणी गर्नुहोस्8
बाँड्नुहोस्
Choose File
Comment as Geographic Solutions…